काठमाण्डू, १८ भदौ- कांग्रेस केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई बर्खास्त गर्न माग गरेका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै भण्डारीले मन्त्री गुरूङले प्रहरी संगठनका प्रमुखमाथि अपशब्द बोलेकाले बर्खास्त गर्न माग गरेका हुन्।
‘देशको सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले भनेका छन् ।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरूङले आइजिपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । यसअघि पूर्वप्रहरी महानिरीक्षकहरुको संगठन पूर्वप्रहरी प्रमुख संगठन मञ्चका सदस्यहरुले विज्ञप्ति जारी गर्दै गुरुङलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका थिए ।
उनीहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने अभिव्यक्ति दिएकाले उनलाई कारबाही माग गरेका हुन् । मन्त्री गुरुङलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि उनीहरुले माग गरेका छन् ।