काठमाण्डू, १८ भदौ- पूर्वप्रहरी महानिरीक्षकहरुको संगठन पूर्वप्रहरी प्रमुख संगठन मञ्चका सदस्यहरुले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।
उनीहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने अभिव्यक्ति दिएकाले उनलाई कारबाही माग गरेका हुन् । मन्त्री गुरुङलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि उनीहरुले माग गरेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन अनुरोध गर्दछौं ।’ उक्त अभिव्यक्तिलाई निम्छरो र भाषिक अराजकताको संज्ञा उनीहरुले दिएका छन् । विज्ञप्ति जारी गर्नेहरुमा पूर्वप्रहरी महानिरीक्षकहरु अचुतकृष्ण खरेल, मोतीलाल बोहरा, ध्रुबबहादुर प्रधान, कुबेरसिंह राना, रवीन्द्रप्रताप शाह, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्बेन्द्र खनाललगायत छन् । केही दिनअघि पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने बताएका थिए ।