होटलमा लगेर युवतीको हत्या गर्ने पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १८ गते ७:०८ मा प्रकाशित

हेटौंडा, १८ भदौ– हेटौंडामा २३ वर्षीया एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

हेटौंडा–११ थानाभर्याङकी न्यौपानेको हेटौंडा–१०, बसपार्कस्थित रत्न होटलको कोठा नम्बर २०५ मा मा ९ भदौमा हत्या भएको थियो । उनको शव १० गते फेला परेको थियो ।
मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका समीर खान छन् ।

खानलाई भाग्न सहयोग गरेको आरोपमा उनकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुनलाई र ससुरा ५६ वर्षीय लालबाबु खाँ पठान र जेठान ३० वर्षीय फैयाज अहमद यसअघि नै पक्राउ परेका थिए ।
खानले एलिसाका भाईसँग सामाजिक सञ्जाल ह्वाट्सएपमा अन्जानमै एलिसाको हत्या हुन पुगेको स्वीकार गरेको एसपी रिजालले बताए । आफूहरुबीच सामान्य विवाद भएको र विवाद चर्किंदै जाँदा आफूले हत्या गरेको उनको भनाइ थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us