पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १६:१६ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले जनमुक्ति सेनाका पूर्वकमाण्डर एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध गरेका छन ।

शनिबार बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडामा रहेको पासाङको निवासस्थित कम्पाउन्डमा ब्यानर राखेर विरोध गरेका हुन ।

ब्यानरमा भ्रष्टाचारविरुद्ध जनएकता अभियान नारा राखिएको छ । त्यसको तल ‘जनयुद्धका फौजी कमान्डर र देशका उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बङ्गला निर्माण गर्ने स्रोत के हो ?’

‘०४६ यता देशका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसङ्घर्ष’ लेखिएको छ । पार्टीले ‘भ्रष्टाचारविरुद्ध जनएकता अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही नीति बमोजिम पासाङको घरमा ब्यानर राखिएको इन्चार्ज बिसीले जानकारी दिएका छन ।

‘माओवादी आन्दोलनको महान् उद्देश्यलाई संसदवादी स्वार्थमा बिक्री गरिएको छ । जनयुद्धको आदर्श र महानतामाथि धोका भएको छ’, उनले भने, ‘अर्को एउटा सामान्य मानिसले कसरी सम्पत्ति जोड्यो रु सम्पत्तिको आयस्रोत के हो रु यसै विषयमा भण्डाफोर गर्न हामी उहाँको घरमा गएका हौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us