काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । आज सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ पनि खुवाएका छन ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बनेकी छन् । यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । जिसीलाई यसअघि नै सरकारमा सहभागी गराउने तयारी थियो ।
तर सरकारले पूर्णता नपाउँदै ढल्यो र जिसी मन्त्री बन्नबाट बञ्चित भइन् । त्यसबेला अधिकारीले पूरानै अनुहारलाई मौका दिएका थिए । उनी नवलपुर २ (१) बाट निर्वाचित भएकी हुन् । २०४८ सालदेखि राजनीतिमा लागेकी जिसीको संसदीय भूमिका प्रभावकारी छ । पर्वत (२) बाट निर्वाचित मित्रलाल बस्याल एमालेका पूराना नेता हुन् ।
उनी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । दोस्रो कार्यकालमा निर्वाचित सांसदहरुमध्ये उनी सबैभन्दा ज्येष्ठ हुन् । त्यसैले ज्येष्ठ सदस्यको हैसियतले पहिलो प्रदेशसभा बैठक उनैले चलाएका थिए । बस्याललाई अधिकारी पहिलो कार्यकाल मुख्यमन्त्री हुँदा नै मन्त्री बनाउने चलेको थियो । बागलुङका कृष्ण पाठक अधिकारी निकटका हुन् ।
उनी समानूपातिक सीटबाट निर्वाचित भएका थिए । सुरुमा मसालको राजनीति गरेका पाठक २०४१ पछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका हुन् ।
अर्का समानूपातिक सांसद प्रकाश केसी पनि अधिकारी निकटकै हुन् । सांसद बनाउने बेलामा पनि अधिकारीले जोडबल गरेका थिए भने उनै अधिकारी दाइना हुँदा केसी भौतिक पूर्वाधार विकास मन्त्री बने । उनी लामो समय राप्रपाको राजनीतिबाट २०७४ मा एमाले प्रवेश गरेका थिए ।