काठमाण्डु, १७ भदौ– नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरेका हुन ।
त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरेका हुन । मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताएका छन ।
उनले भने, ‘बोल्ने काम जिन्दगीमा धेरै गरियो । बोलेरै चलचित्र निर्देशन, निर्माण गरेको हो । खेलेको हो । यो पटक चाहिं म काम गर्न आएको छु । यसपटक मेरो एउटै स्टेटमेन्ट, म जागिर खान हैन, काम गर्न आएको हो ।’
उक्त अवसरमा उनले कर्मचारीलाई केही निर्देशन समेत दिएका छन । डिसी चलचित्र विकास बोर्डको चावहिलस्थित कार्यालयमा पुग्दा बोर्डका कर्मचारी र चलचित्रकर्मीले स्वागत गरेका थिए ।
उनको स्वागतको लागि बोर्डले बोर्डको हलमा समारोह समेत आयोजना गरीएको थियो । उक्त समारोहमा चलचित्र संघसंस्थाका प्रमुख र प्रतिनिधिले शुभकामना दिएका छन् ।
अध्यक्ष डिसीले आजको एक दिनमा मात्र शुभकामना लिने बताएका छन् । लामो समयदेखि सञ्चारकर्म सहित फिल्ममा सक्रिय डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।