काठमाण्डू, १७ भदौ- अर्थ मन्त्रालयले निश्चित सर्तसहित दूग्ध विकास संस्थान (डीडीसी) मा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छिविकास मन्त्रालयलाई सहमति दिएको छ । दूग्ध विकास संस्थानले यो रक़म तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नसक्ने मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि संस्थानको नाममा ऋण लगानीअन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणका रुपमा लगानी गर्नेछ ।
दूग्ध विकास संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दूग्ध विकास संस्थानका अधिकारीबीच पटकपटक छलफल भएको थियो ।