काठमाण्डु, १७ भदौ– अघिल्लो सरकारले नीति कार्यक्रम र बजेटमार्फत ल्याएको गाँजा खेतीको योजना वर्तमान सरकारले रोक्ने भएको छ ।
प्रधानमन्त्री केपी ओली स्वयंले गाँजा खेतीलाई वैधता दिन नसकिने बताएपछि उक्त योजना रोकिने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीसँगको बैठकमा ओलीले गाँजा खेतीलाई वैधता दिन नसकिने र त्यस काममा हौसिएर नलाग्न निर्देशन दिए । मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पर्ने उक्त काम गर्न दिन नहुने उनको भनाइ थियो ।
‘सरकारले जाँगा खेतीलाई वैधता दिन सक्दैन’, ओलीले भने, ‘यो मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पार्ने गतिविधि हो ।’ बैठकमा उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका दुई सचिवसहित अधिकारी सहभागी थिए ।
फरक प्रसंगमा उनले चाडपर्वको समयमा खाद्यान्न अभाव हुन नदिन मातहत निकायलाई निर्देशन दिए ।