काठमाण्डु, १७ भदौ– आज भादौ कृष्ण औँसी अर्थात कुशे औँसी पर्व । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर यो पर्व मनाउँदैछन् ।
ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक जनविश्वास रहिआएको छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गरेका छन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।
बुबाको मुख हेर्ने दिन
आज छोराछोरीले आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ । बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन् ।
छोराछोरीले आफ्ना पितालाई मीठा—मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुख—शान्ति मिल्ने जनविश्वास छ। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाण्डुको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । त्यस कारण आजको दिनलाई गोकर्णे औंसीका नामले पनि चिन्ने गरिएको छ ।
गोकर्णेश्वरसहित पाशुपत क्षेत्र, मुस्ताङको कागबेनी, चितवन र तनहुँको सिमानामा रहेको देवघाट र नुवाकोटको बेत्रावती लगायत स्थानमा आज दिनैभर दिवंगत बुबाबो नाममा श्राद्ध, तर्पण, सिदादान र पिण्डदान गर्नेहरूको मेला लाग्ने गर्छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचीअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।
बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ ।