काठमाण्डु, १६ भदौ– गण्डकी प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिएका छन ।
वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना रहेको उनले जानकारी दिएका छन । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
उनले भने, ‘यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर ९ वटा मन्त्रालय गण्डकी प्रदेशमा कायम गर्ने भनेर निर्णय गरेका छौं, ‘छिट्टै नै नेकपा एमालेका तर्फबाट ४ जना मन्त्रिपरिषदमा समावेश हुनुहुन्छ र संघीय गठबन्धन अनुसार गठबन्धन कायम भएर अगाडि बढ्छ ।’