जुम्लाको चट्याङ लागेर ५६ भेडा मरे

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडाको मृत्यु भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले जानकारी दिएका छन ।

पातरासी–२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेको उनले जानकारी दिएका छन । ‘घटनाको पूरै विवरण आइसकेको छैन् । स्थानीयका अनुसार अहिलेसम्म ५६ भेडा मरेको जानकारी प्राप्त भएको छ,’ डिएसपी कामतीले भने, ‘प्रहरी टोली घटनास्थल गएको छ ।’ प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ ।

प्रहरी टोली बिहानै हिंडे पनि भौगोलिक विकटताका कारण पुग्न ढिला भएको उनले जानकारी दिएका छन । प्रहरी टोली घटनास्थलमा पुगेपछि थप विवरण आउने डिएसपी कामतीले बताएका छन । पाटमा मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा सम्पर्क गर्न समस्या भएको प्रहरीले जानकारी दिएको छ ।

यो पाटनमा गर्मीयाम सुरु भएसँगै पातरासीका किसानहरूले भेडा चराउने गर्छन् । गत साउन १५ गते जुम्लाकै तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेको प्रहरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us