कांग्रेसको केन्द्रीय समिति बैठक अघि सानेपामा पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– कांग्रेसको केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बस्ने तयारी गरेको छ । केन्द्रीय समिति बैठक अघि पदाधिकारी बसेर छलफल गर्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ । त्यसअघि पदाधिकारी बसेर बैठकमा लेखिने निर्णयका बारेमा छलफल हुने उनले जानकारी दिएका छन । उनले भने, ‘कतिपय विषयमा भाषा मिलाउने गरी बैठक बस्न लागेको हो ।’

गत साउनदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ । महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुटेपछि २८ गते सम्म बसेर बैठक स्थगन भएको थियो । त्यसपश्चात् भदौ ७ गते बसेको बैठकमा पनि निर्णय हुन सकेको थिएन ।

भदौ १२ गतेका लागि बोलाइएको बैठक भने प्रतिवेदनमा सहमति जुट्न नसकेपछि १६ गते सम्मका लागि स्थगन गरिएको थियो । महामन्त्री गगन थापाले ल्याएको चुनाव अघि गठबन्धन गर्न नहुने अवधारणा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसीमा बैठकमा सहमति जुट्न सकेको छैन ।

शनिवार बसेको पदाधिकारी बैठकमा यी विषयमा सैद्धान्तिक सहमति जुटेपनी कस्तो भाषा प्रयोग गरेर निर्णय लेख्ने भनेर केन्द्रीय समिति बैठक सुरु हुनु अगावै पदाधिकारी बैठक बस्न लागेको हो । बैठक १ बजे सानेपामा बस्ने घिमिरेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us