काठमाण्डु, १४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले पार्टीमा राखेको लिखित प्रस्तावलाई सहज रूपमा लिएको बताएका छन ।
प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र आफूले सहज रूपमा लिएको प्रचण्डले बताएका छन । शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले पार्टी फुटको चर्चा खारेज भइसकेको पनि बताएका छन । छेवैमा बसेका शर्मालाई देखाउँदै प्रचण्डले भने– ‘प्रभाकरजी यहीँ हुनुहुन्छ, उहाँ आफैँले यो मेरो फरक प्रस्ताव होइन, अरू साथीहरूले मौखिक राख्नुभयो, मैले लिखित राखेको हुँ, भोलि केन्द्रीय समितिको बैठकमा यसलाई आत्मसात् गरेर लिएपछि मेरो पनि आत्मसात् गरियो भन्ने हुन्छ भनेर भन्नुभयो ।’
शर्माको प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र ती विषयहरूलाई नै समेटेर दस्ताबेज बनाइने प्रचण्डले बताएका छन । नेतृत्व हस्तान्तरणको विषयमा प्रचण्डले राम्रो टिम बनेको खण्डमा आफैँ फरक भूमिकामा रहने उनले बताएका छन ।
उनले भने, ‘तत्कालका तत्कालै नेतृत्व हस्तान्तरण भन्ने हुँदैन, प्रभाकरले पनि अहिले नै अर्को अध्यक्ष बनाउने भन्नु भएको होइन, ‘अध्यक्ष पद मेरो लागि ठुलो होइन, मलाई के लाग्छ भने प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो ।’