चन्द्रनिगाहपुरमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १० गते १६:४८ मा प्रकाशित

काठमाण्डु, १० भदौ– पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का विवश सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ ।

आज सोमबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ओझा र सापकोटाको मृत्यु भएको प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए ।

टाटा सुमोको ठक्करबाट गम्भीर घाईते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिएका छन ।

टाटा सुमोलाई इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले नियन्त्रणमा लिएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना तीव्र गतिको कारण भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us