काठमाण्डु, ६ भदौ– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले महसुस गरेको भनिएको सुरक्षा थ्रेटबारे जानकारी गराउन सरकारसँग माग गरेका छन ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद दाहालले यस्तो माग गरेका हुन । उनले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्टार लगायत सुरक्षाको कारण कैयौं दिनदेखि कार्यालयमा उपस्थित नसकेको बताएका छन ।
यो विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सदनलाई जानकारी गराउनुपर्ने उनले बताएका छन । उनले भने, ‘सत्य के हो ? सत्य के हो हामीले थाहा पाउनुपर्छ ।
त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त सुरक्षा कहाँ दिन सकिन्छ । सरकार छ कि छैन ? सरकार छ भने टियुमा सुरक्षा दिनु पर्यो’ । समस्याको पहिचान गरेर समाधान दिन सरकारलाई उनको आग्रह छ ।
‘समस्या के हो ? राजनीतिक समस्या हो भने वार्ताद्धारा हल गर्नुपर्यो । गुण्डागर्दी हो भने कानुनी प्रक्रियाद्धारा नियन्त्रण गर्नुपर्यो’ ।