तनहुँ, ५ भदौ- तनहुँको घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो ।
अहिले पनि फुसफुस पहिरो खसिराखेको छ, तत्काल पन्छाउन सक्ने अवस्था छैन, उनले भने, भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ । राजमार्गमा ठूलो पहिरो खसेकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको प्रजिअ गौतमले बताए ।
पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।।पहिरो गएको ठाउँ नजिकैबाट सानो गाडी जाने वैकल्पिक मार्ग भए पनि ठूला गाडी उक्त बाटो गुड्न नसक्ने पनि उनले बताए ।
ठूला गाडीलाई तनहुँको डुम्रेबाट लमजुङको सुन्दरबजार, दुइपिप्ले हुँदै पोखरा जाने बनाइएको र पोखराबाट छुट्ने गाडीलाई पनि सोही मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रजिअ गौतमले जनाए ।
भोलि बिहानैदेखि पहिरो पन्छाउन पृथ्वी राजमार्ग फराकिलो बनाउने ठेक्का पाएको चिनियाँ कम्पनीलाई निर्देशन दिएको उनको भनाइ छ ।