पार्टी फुटको हल्ला स्थायी समितिले खारेज गरिसक्यो, मिडिया ट्रायल नगरौं: प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको भन्दै मिडिया ट्रायल नगर्न नेताहरुलाई सचेत गराएका छन ।

आज (बुधबार) बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको दाबी गरेका छन । उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै पार्टी फुटको हल्ला चलेको थियो ।

शर्माले साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी हेडक्वाटरबाटै त्यस्तो हल्ला चलाइएको भन्दै प्रतिवाद गरेका थिए । १४ पृष्ठ लामो लिखित प्रस्ताव राख्दै शर्माले अब पार्टीको नेतृत्व प्रचण्डले छाड्नुपर्ने भनेपछि यसमा बहस तीव्र बनेको छ । अध्यक्ष प्रचण्डले आफूहरुबीच बीच फरक मत नभई एकमत गर्ने कोसिस हुने बताएका छन ।

उनले जनार्दनसहितका नेताहरुले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरुको जवाफसहितको दस्तावेज आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने जानकारी पनि दिएका छन ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि पूर्वतयारी स्वरूप हरेक प्रदेशमा परामर्श समितिको बैठक बस्ने निर्णय साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले गरेको थियो ।

सोही निर्णय अनुसार आजदेखि बागमती प्रदेशको बैठक बसेको हो । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ । बैठकको सुरुमा प्रचण्डले बैठकमा भएका छलफल र बहस बाहिर मिडियामा नलैजान नेताहरुलाई सचेत गराएका थिए ।

‘मिडिया ट्रायल हामी कसैले नगरौं,’ प्रचण्डले भने । १२२ वटा पालिका माओवादी केन्द्रको नेतृत्वमा रहेको भन्दै उनले त्यहाँ जनअपेक्षा अनुसारका काम गरेर देखाउने आग्रह गरेका छन । उनले सरकारभन्दा सडक र सदनको मोर्चा अब प्रमुख हुने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us