काठमाण्डु, ५ भदौ– जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट वेपत्ता भएका छन ।
शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक रहेका थिए । उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए ।
साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगञ्ज गएका उनका ज्वाइँ गोपी सिंहले जानकारी दिएका छन ।
उनले भने, ‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ ।
जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन’ । गत २६ साउन सम्ममा आउँछन् कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि उनका बाबु हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए ।
छोरा हराएको खबर पाएपछि हंसबहादुर पनि नेपालगञ्ज पुगेका थिए । नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजीका लागि उनीहरुले निवेदन दिएका छन् ।
नेपालगञ्जमा बसेर खोजी गर्दा होटलमा बास बस्न पैसा अभाव भएपछि जाजरकोट नै फर्किएको बुबा हंसबहादुरले जानकारी दिए । उनले भने, ‘नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन ।
फोन पनि बन्द छ । खाना खाएको १६ हजार नौ सय रुपैयाँ पुगेपछि पछि तिरौंला भनेर फर्कियौं’ । हंसबहादुरले छोराको खोजीका लागि प्रहरीलाई आग्रह गरेका छन् । उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति बसेको बताइन् ।