रास्वपाले मुकुल ढकालसँग दोस्रो पटक माग्यो स्पष्टीकरण

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने भएको छ ।

यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई बुधबार बसेको केन्द्रीय समितिले अनुमोदन गरेसँगै ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक नेताले जानकारी दिएका छन ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई तपाईंलाई साधारण सदस्य नरहने गरी किन कारबाही नगर्ने भनी २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।’

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्तबुझ्दो जवाफ नदिएको बुधबारको केन्द्रीय समिति बैठकले ठहर गरेको छ । बैठकले ढकाललाई अन्तिमपटक स्पष्टीकरणका लागि समय दिने निर्णय गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । २५ असारमा रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us