भ्रष्टाचार मुद्दामा हदम्याद राखे विद्रोह हुन्छ: सांसद केसी

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन ।

आज (बुधबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस नेता केसीले यस्तो बताएका हुन । उनले भ्रष्टाचार निवारण ऎन २०५९ को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो व्यवस्थाले जनमानसमा भ्रष्टाचारी जोगाउन खोजेको सन्देश जाने पनि बताएका छन ।

कांग्रेस नेता केसीले भने, ‘सरकार भ्रष्टाचार जोगाउन लागेको, ठूला भ्रष्टाचारका काण्ड छिपाउन लागि परेको भाष्य समाजमा बनाउन खोजिदैछ । यस्तो बेला कानुन बनाउँदा विशेष ख्याल गर्नुपर्छ ।’ भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमा कुनै भ्रष्टाचारको घटनामा थाहा पाएको मितिले ५ वर्षसम्म मुद्दा चल्ने व्यवस्था छ ।

कांग्रेस सांसदले उक्त व्यवस्था राख्न नहुने बताउँदै आएका छन् । ५ वर्षको हदम्याद राख्ने निर्णय भए नोट अफ डिसेन्ट लेख्ने उनको चेतावनी छ । उनले थपे, ‘भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने कुरा सुशासनमाथिको भद्दा मजाक हो । कानुनी सजायबाट उन्मुक्ति दिने नियत नै गलत, ‘सबै कालखण्डको भ्रष्टाचार हेर्नुपर्छ ।

कुनै हालतमा ५ बर्षको हदम्याद स्वीकार्न सकिन्न ।’ भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राखे बिद्रोह जन्मिने उनको चेतावनी छ । ‘भ्रष्टाचार अनुसन्धानमा समयसीमा राखे असन्तुष्टि मात्रै होइन बिद्रोह जन्मिन्छ’, केसीले भने, ‘यदि भ्रष्टाचारमा अनुसन्धानको सीमा राख्ने कुरा भयो भने म नोट अफ डिसेन्ट लेख्छु ।’

सांसद केसी यो विधेयकका संसोधनकर्ता हुन् । समितिले लिएको निर्णयमा उनको निर्णय लागू हुदैन । तर प्रतिनिधि सभाको बैठकमा छलफल हुँदा भने उनले असन्तुष्टि र नोट अफ डिसेन्ट लेख्न सक्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us