यो उमेरमा झण्डा हल्लाउन मात्रै सरकारमा आएको होइन: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डा हल्लाउन मात्रै आफु सरकारमा नआएको बताएका छन ।

उनले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता बढाउने बताएका छन । आज बुधबार ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ ।’ प्रधानमन्त्री ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने पनि बताएका छन ।

उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउनुपर्ने पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले यो उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरू सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने पनि बताएका छन ।

उनले भने, ‘हामीले प्रविधि, सीप र पूँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ, ‘सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न ।’ समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरण कमी नहुने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us