टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाण्डु टुडे २०८१ भदौ ४ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकारले प्रतिबन्ध खोल्ने गृहकार्य सुरु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो ।

लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णय लिनुअगाडि प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरेका थिए । त्यसैले प्रतिबन्धमा प्रमुख दलहरुले मौन समर्थन जनाए । टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ ।

र, प्रतिबन्ध हटाउन माग गर्दै आएको छ । तर सरकारले प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटको प्रतिबन्धबारे चासो राख्दै आएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशज दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ ।

अहिले सामाजिक सञ्जालमा कुनै कुनै किसिमको प्रतिबन्ध लगाउन नहुने भन्दै उनले सञ्चार मन्त्रालय र आफ्नो टिमलाई टिकटकको प्रतिवद्धताबारे छलफल गरेर आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन भनेको स्रोतको दाबी छ ।

‘टिकटकको प्रतिबन्धसँग भूराजनीति पनि जोडिएकाले निर्णय गर्न केही असहज हुन्छ कि भन्ने विश्लेषण छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले भने, ‘तर अब यो प्रतिबन्ध लामो समय राख्न नहुने पक्षमा प्रधानमन्त्री नै हुनुहुन्छ, छिट्टै मन्त्रिपरिषदबाट प्रतिबन्ध फुकुवाको निर्णय हुनसक्छ ।’ भारतले २०२० मै टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो भने अमेरिकामा सिमित प्रतिबन्ध छ आधाभन्दा बढी राज्य, संघीय सरकार र सुरक्षा फोर्सले आफ्नो कर्मचारकिो डिभाइसमा यो एप सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।

हाल ३० भन्दा बढी टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध छ । तर सरकारले बनाएको मापदण्डहरु मान्न तयार भइसकेको टिकटकलाई प्रतिबनध लगाइराख्नु नपर्ने मत प्रधानमन्त्रीको छ ।

टिकटकको प्रतिबन्ध हटाउन उनले सत्ता साझेदार नेपाली कांग्रेसको नेतृत्व तहमा पनि सहमति खोजेका थिए । कांग्रेस सकारात्मक देखिएकाले टिकटकको प्रतिबन्ध हट्नसक्ने स्रोतको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us