दाङ, ४ भदौ– लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिंदै छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
एमालेका आचार्य काँग्रेसको समर्थनमा गत ७ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
एमाले प्रदेशसभामा दल नेता चुनिएलगत्तै उनले विश्वासको मत लिन लागेका हुन् । महासचिव शंकर पोखरेलनिकट आचार्य उपाध्यक्ष विष्णु पौडेलनिकट दल नेता लीला गिरीलाई रोकेर मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
मुख्यमन्त्री नियुक्त हुँदा उपनेता रहेका आचार्य केही दिनअघि मात्र दल नेता भए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
आफ्नो दल एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले विश्वासको मत पाउने निश्चित छ । ८७ सांसद रहेको प्रदेशभामा बहुमतका ४४ सांसदको समर्थन चाहिन्छ ।
आचार्यलाई नागरिक उन्मुक्ति पार्टीका चार, अकोश राई नेतृत्वको जसपाका दुई, उपेन्द्र यादव नेतृत्वको जसपाका एक सांसदको समेत समर्थन छ । ती दलले आचार्यलाई विश्वासको मत लिन ह्वीप जारी गरेका छन् ।
माओवादी केन्द्रका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक÷एक गरी १७ सांसद विपक्षमा छन् ।