काठमण्डु, ४ भदौ– आज काठमाण्डु उपत्यकासहित मुलुकका प्रमुख सहरमा परम्परागत गाइजात्रा पर्व मनाइँदै छ ।
गाइजात्राका अवसरमा सरकारले काठमाण्डु उपत्यकामा सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाउने गरिन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो घर आसपास क्षेत्रका बजारमा परिक्रमा गराउने चलन छ ।
गाइलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसो गर्नाले गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरमा मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि यो पर्व सुरु भएको किंबदन्ती छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चल्न थालेका बताइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) परिसर भएर जानुपर्ने प्रथा अहिलेसम्मै कायम छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
गाईजात्रा पर्व काठमाण्डु उपत्यकासहित काभ्रेको बनेपा, धुलिखेल, पनौती, र बाहबीसे, नुवाकोटको त्रिशूली, दोलखाको चरिकोट, खोटाङको दिक्तेल, भोजपुरको चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, तनहुँ, गोरखा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ ।