काठमाण्डु, ३ भदौ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोली मंगलबार प्रदेश सभाबाट विश्वास मत लिदै छन । मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।
उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिहरूले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन । त्यसपछि उक्त प्रस्तावमाथि मत विभाजन गरिनेछ । एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। शनिबार बसेको संसदीय दल बैठकले आचार्यलाई संसदीय दल नेतासमेत चयन गरिसकेको छ ।
मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच वटा दलहरूका सांसदले पनि विश्वास मत दिने भएका छन् । ती दलहरूले विश्वास मत दिन ह्विप पनि जारी गरेका छन् ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । यी दुई दल भए सरकार बनाउन बहुमत पुग्छ। ११ वटा दल क्रियाशील रहेको लुम्बिनीमा ८७ जना सांसद छन् ।
मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्छ। मंगलबार दिउँसो २ बजे प्रदेश सभामा मुख्यमन्त्रीले विश्वास मतसम्बन्धी प्रस्ताव राख्ने तयारी गरेका छन् ।