काठमाण्डु, ३ भदौ– म्याग्दीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जानकारी दिएको छ ।
हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिएका छन ।
घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको पनि प्रहरीले जानकारी दिएको छ । मृतकको टाउकोमा चोट लागेको छ । नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद रहेको वडाध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिएका छन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिएका छन ।