काठमाण्डु, ३ भदौ– आज सोमबार बिहान ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आगलागी भएको छ । बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब नौ बजेतिर आगलागी सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।
आगो निभाउन ललितपुर महानगरपालिकाका नगर प्रहरीसहितको टोली खटिएको थियो । काठमाण्डु महानगरपालिकाको दमकल पनि झिकाइएको प्रहरीले जनाको छ ।
ललितपुरको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।
उक्त घरको भुइँतलामा मेडिकल पसल र खाजा तथा मिठाइ पसलहरु छन् । आज जात्राको दिन परेकाले मिठाइहरु बनाउने काम जारी थियो । त्यहीबेला घरको दोस्रो तलामा आगो लागेको देखिएको थियो ।
त्यहाँ टिभी कोठा थियो । त्यही टिभी कोठाबाट आगो सल्किएको अनुमान प्रहरीको छ । आगलागीबाट भएको क्षतिको विवरण खुलिसकेको छैन ।