कार्यकर्तालाई प्रचण्डको सर्कुलरः सडक आन्दोलनमा जानुपर्ने हुन सक्छ

काठमाण्डु टुडे २०८१ भदौ २ गते १९:५६ मा प्रकाशित

काठमाण्डु, २ भदौ– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सडक आन्दोलनमा जानुपर्ने अवस्था आउने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशनसहितको सर्कुलर जारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङद्वारा जारी सर्कुलरमा सुशासनको पक्षमा र प्रतिगमनविरुद्ध सदनमा आवाज उठाउँदा सुनुवाई नभए सडकमा जानुपर्ने हुन सक्ने उल्लेख छ ।

‘सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टाचारको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकलाई ध्यानमा राख्नुपर्ने देखिन्छ’, सर्कुलरमा भनिएको छ ।

सुशासनको अभियानलाई अवरुद्ध गर्न र मुलुकलाई २०४७ सालतिर फर्काउन कांग्रेस–एमालेबीच मध्यरातमा सहमति भएको र उक्त सहमति आरोप पश्चगामी रहेको पनि सर्कुलरमा छ । हालै सम्पन्न स्थायी समिति बैठकमा नेताहरुले उठाएका सवाल जस्ताको तस्तै सञ्चार मध्यममा आउने प्रवृत्तिले पार्टीलाई गम्भीर क्षति हुने भन्दै सचेत गराइएको छ ।

उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा राखेको लिखित फरक मत सञ्चार माध्यममा प्रकाशित भएको थियो । पार्टी कमिटीमा भएका छलफल सार्वजनिक गर्नु पार्टीको सामान्य मूल्य मान्यताको गम्भीर उल्लंघन हुने सर्कुलरमा छ ।

आगामी दिनमा त्यस्ता कार्य हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन पार्टी पंक्तिलाई अपिल गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us