काठमाण्डु,२ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो नसुने आफूलाई जानकारी गराउन पार्टीका मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
हिजो शनिबार साँझ आफ्नो निजी निवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर उनले काम गर्दा समस्या भए प्रधानमन्त्री ओलीलाई गुनासो गर्न निर्देशन दिएका दिएका हुन् ।
यस्तै प्रधानमन्त्रीले कुरा नसुने आफूलाई जानकारी गराउन देउवाले निर्देशन दिएको कांग्रेसका एक मन्त्रीले जानकारी दिएका छन । उनले भने, ‘ काम ढुक्कसँग गर्नुहोस् ।
काम गर्दा केही समस्या भए प्रधानमन्त्रीसँग समय लिएर संवाद गर्न भन्नुभयो‚’ देउवाको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने‚ ‘प्रधानमन्त्रीले कुरा नसुने र सुन्न नचाहे मलाई आएर भन्नु ।
म कुरा गर्छु भन्नुभयो।’ सभापति देउवालाई भेट्न कांग्रेसका १२ जनै मन्त्रीहरू बुढानीलकण्ठ पुगेका हुन् । शनिबार साँझ सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापा पनि छलफलमा सहभागी थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने गृह जिल्ला झापा भएकाले बैठकमा सहभागी हुन सकेनन् ।
ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सभापति देउवालाई भेट्न र समसामयिक विषयमा छलफल गर्न आफूहरू बूढानीलकण्ठ पुगेको जानकारी दिए ।
उनले मन्त्री बनेपश्चात् पहिलो पटक आफूहरू सभापतिलाई भेट्न र छलफल गर्न गएको पनि जानकारी दिएका छन ।भेटमा सभापति देउवाले मन्त्रालयगत ब्रिफिङ सम्बन्धित मन्त्रीहरूबाट सुनेका थिए ।
मन्त्रीहरूले पनि एक महिनाको अवधिमा आफ्नो मातहतका मन्त्रालयबाट भए गरेका कामहरू बारे सभापति देउवालाई जानकारी गराएका थिए । देउवाले सबै मन्त्रीहरूलाई दत्तचित्त भएर काम गर्न निर्देशन दिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिएका छन ।