दुर्गा प्रसाईँको पक्षमा भएको फैसला उल्टाउन गोविन्द केसी पुगे सर्वोच्च

काठमाण्डु टुडे २०८१ भदौ २ गते १८:१५ मा प्रकाशित

काठमाण्डु,२ भदौ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने माग गर्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दायर गरेका हुन ।

डा. केसीले दिएको निवेदन दर्ता र दरपिठ कुनै पनि नभएर अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन ।

केसीको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुने उनले जानकारी दिए । अघिल्लो फैसलामा केसी निवेदन र प्रतिवादी दुवै नभएकाले रिट दर्ता गर्ने विषयमा अध्ययन भइरहेको सर्वोच्चको भनाई छ ।

केसीले ८ वटा आधार देखाउँदै प्रसाईँको पक्षमा भएको उक्त फैसला बदर हुनुपर्ने माग गरेका छन् । २०८० चैत १२ गते सर्वोच्चले प्रसाईँको मेडिकल कलेजलाई प्रक्रिया पुरा गरी सम्बन्धन दिनु भनी आदेश गरेको थियो ।

न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको इजलासले प्रसाईँको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको थियो । प्रसाईँले आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाण्डु विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए ।

केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको उनको आरोप थियो । आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाण्डु विश्वविद्यालयलगायतका निकायका विरुद्ध २०७७ असारमा प्रसाईँले दायर गरेको रिटको अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले पक्षमा फैसला सुनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us