काठमाण्डु,२ भदौ– गएराति आएको हावाहुरीले ठुलो क्षति पुर्याएको छ । हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिएका छन । उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको जानकारी दिए ।
राजमार्गमा ढलेको रुखहरू राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको पनि उनले जानकारी दिए ।
चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२३च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उनले जानकारी दिए ।
हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकडभिट्टामा विद्युत् अवरुद्ध भएको पनि उनले जानकारी दिए ।