ओलम्पिकमा नजमाउनु भनेर नेपाललाई श्राप परेको छैन: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ २ गते १६:१० मा प्रकाशित

काठमाण्डु,२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीहरूको उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।

ओलम्पिकमा नेपाल सहभागितामा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाललाई ओलम्पिकमा नजम्न भनेर कुनै श्राप नपरेको बताए । आज आइतबार राजधानीमा आयोजित नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले खेलका विभिन्न विधामा उत्कृष्ट खेल, प्रतिस्पर्धी खेल र जित्ने गरी खेल विकास गर्नुपर्ने आवश्यकता औँल्याए । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न जरुरी रहेको उनले बताए । उनले भने, ‘खेल प्रतिस्पर्धा पनि हो । खेलमा उत्कृष्टतामा आवश्यक हुन्छ । यसका लागि सुगठन, सन्तुलन, तीव्रता र समन्वय आवश्यक छ ।

अनि निरन्तर अभ्यास आवश्यक हुन्छ । यसरी उत्कृष्टता हासिल गरेर नेपालको इज्जत राख्ने खेलाडीहरू जन्माउनुपर्छ ।’ ‘स्वर्ण पदक हामीले प्राप्त नगर्ने भन्ने के छ र रु मलाई लाग्छ, हामीले रग्बी नखेले पनि हुन्छ । यहीँ नेपाली नेपाली बिचमा त खेलौँला । अन्तर्राष्ट्रिय रग्बीमा गएर किचिपिची हुनु त्यति गतिलो काम होला जस्तो मलाई लाग्दैन ।

यो मेरो विचार मात्र हो,’ उनले थपे, ‘हाम्रा खेल्ने खेलहरू फुटबल, भलिबललगायत खेलहरूमा बढी जोड दिनुपर्छ । ओलम्पिकमा हामी सहभागी मात्र भइरहेका छौँ । ओलम्पिकमा हामीले जमाउन पाएका छैनौँ ।

ओलम्पिकमा नजमाउनु नेपाल भनेर कुनै श्राप परेको छैन । जमाउन सकिन्छ । केही पनि रोक्दैन ।’ उनले खेललाई जीवनशैलीको रूपमा विकास गर्ने कुराको नेतृत्व लिन राष्ट्रिय खेलकुद महासंघलाई निर्देशन दिए । खेलाडीको मात्र नभएर समग्र खेलकुदकै विकास गर्नु जरुरी रहेको प्रधानमन्त्री ओलीले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us