काठमाण्डु, २ भदौ– रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगर रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिएका छन ।
शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको डिएसपी लामाले जानकारी दिए ।
अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।