काठमाण्डु, १ भदौ– प्रहरीले महोत्तरीको बर्दिबासमा आज पलागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने पुष्कर श्रेष्ठको छोरा २३ वर्षीय किसन श्रेष्ठ र मीनबहादुर वाइवाको छोरा २२ वर्षीय विकास वाइवा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन ।
बागमती प्रदेश ०२–०२५ प ६४६७ नम्बरको एनएस पल्सर मोटरसाइकलमा चढी बर्दिबासबाट काठमाडौँतिर जाँदै गरेका उनीहरुलाई बर्दिबास–३ स्थित पाटुमा सवारी साधन चेकजाँच गर्दै गरेको नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले मोटरसाइकलको पछाडि बसेका विकासले बोकेको कालो खैरो रङको कपडाको ब्याग भित्र प्लास्टिकमा बेरिएर राखेको अवस्थामा नेपालमा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट–१० लेखिएको ट्याब्लेट एक हजार चार सय ७३ पिस र कोरेक्स लेखिएको झोलपदार्थ (सिरप)–१ बोतल बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ गरिएका दुवै युवकलाई आवश्य कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।