काठमाण्डु, १ भदौ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन ।
आज शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन । उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् काट्नु नहुने तर्क गरेका छन ।
उनले सरकारले उद्योगीहरूले विद्युत् उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्ने कुराको जिम्मेवारी राज्यले लिनुपर्ने पनि बताएका छन । उनले बक्यौता रकम नतिर्ने उद्योगहरूलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत् काट्नु नहुने बताए ।
उनले उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन समेत दिएका छन ।
उनले भने, ‘अघि साथीहरूले भन्दै हुनुहुन्थ्यो ट्रंकलाइनको कुरा । विद्युत्का पैसा नतिरेका कुरा । विद्युत् प्रयोग गरेबापत पैसा तिर्नुपर्छ । र त्यसको मूल्य निर्धारण भएको छ ।
एउटा सामान्य झुपडीमा बस्ने मान्छेले त बत्ती नबाल्दा त ३० रुपैयाँ तिरिराखेको छ भनेपछि प्रयोग गरेको चिज तिर्नुपर्दैन र रु प्रधानमन्त्रीज्यूले पनि यही भन्नुभएको छ । यो केही व्यावसायिक साथीहरूको विषयमा उठेको प्रश्न हो ।
केही बक्यौताको कुरा हो । मैले पनि त्यही भनिराखेको छु । मैले अहिलेसम्म कसैले तिर्नुपर्दैन भनेको सुनेको छैन । तिर्नुपर्ने कुरा कति न्यायोचित छ कि छैन भन्ने कुराको जिम्मेवारी चाहिँ राज्यले लिनुपर्छ । ठिक छ, कहीँ कसैले बदमासी गरेको छ । दण्ड, सजाय हुन्छ । जरिवाना हुन्छ । तर दण्ड, सजाय, जरिवाना घाँटी काटेर हुँदैन ।
घाँटी काट्ने भनेको अन्तिम कुरा हो । एउटा उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नु सरह हो । घाँटी काटिसकेपछि के बाँकी रह्यो ? त्यहाँ श्रमिक होलान् । त्यहाँ मजदुर होलान् । काम गर्ने मान्छे ज्यालादारी होलान् । दिनभरि काम गरेर बेलुका खानुपर्ने आश्रित वर्ग होला त्यहाँ । त्यो उसको उत्पादन होला । त्यहाँबाट राजश्व सङ्कलन होला ।
यदि तिरेनन् भने त जफत गर्ने कानुन छ नि । कानुनहरूको प्रयोग गर्नुपर्यो । एकैचोटी अन्तिम ठाउँमा पुग्नु भएन भनेको मात्रै हो । तिर्नु हुँदैन । लुटेर खानुपर्छ भन्ने मान्यता सरकारले राख्ला ? यस्तो दुष्प्रचार गर्नुहुन्छ ?
हामी स्रोत, साधन हुँदा हुँदै पनि आर्थिक हिसाबले गरिब हुँला । तर मानसिक हिसाबले पनि गरिब हुनेप्रति मलाई दुःख लागेको छ । मानसिक हिसाबले गरिब हुन नेपालीहरूलाई छुट छैन । यतातिर लाग्नु हुँदैन । यस्ता दुष्प्रचारमा हामी रुमल्लिनु हुँदैन । अब अगाडी बढ्नुपर्छ । हामीलाई कुनै छुट छैन पछाडि फर्किने ।’
मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युत्को बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरेका छन ।