काठमाण्डु, १ भदौ– आज शनिबार भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग राख्दै काठमाण्डुको बानेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा युवाको समूह र प्रहरीबिच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबिच धकेलाधकेल भएको प्रहरीले जानकारी दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी छ ।
विधेयकमा रहेको ‘मुद्दा चलाउने अवधिस् भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने’ प्रावधानमा सत्ताधारी दलहरूबिच नै गहिरो मतभेद देखिएको छ ।
यस्तै ‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले निज त्यस्तो पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र त्यस्तो विषयमा यस ऐन बमोजिम तत्काल कारबाही हुने सक्ने रहेनछ भने निजले जुनसुकै ब्यहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मितिले पाँच वर्षभित्र निज उपर यस ऐन बमोजिम कारबाही गर्न र मुद्दा चलाउन बाधा पर्ने छैन’ भन्ने विधेयकको प्रावधान पनि दलहरूबिच मत बाझिएको छ ।