जनार्दनले पार्टी फुटाउँछन् भन्ने आशङ्का थियो, अब हट्यो: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ १ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, १ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन ।

आज (शनिबार) पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने दाबी गरेका छन । केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदै छन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको अध्यक्ष प्रचण्डले बताएका छन ।

उनले शर्मासँग भएको पछिल्लो छलफलमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा नै कुराकानी भएको बताएका छन । उनले भने, ‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो । कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन ।

त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो । त्यो बाहिर जाँदा बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए । तर, स्थायी अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ ।’

उनले थपे, ‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले भनेको थिएन । तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन् । यसले यदाकदा के भयो भन्ने भएको थियो । तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो । जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु ।

तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु ।’ उनले आज बिहान मात्र पनि उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र अब एकताबद्ध भएर जाने कुरा गरेको जानकारी दिएका छन ।

शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेको र त्यसलाई अध्ययन अनुसन्धान गरेर स्पष्ट पारिने पनि उनले बताएका छन । अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी र स्थायी कमिटीको बैठकपछि अब केन्द्रीय समितिको बैठकको तयारी भइरहेको जानकारी दिएका छन ।

उनले बैठकमा पार्टी एकतालाई सुदृढ गर्ने र पार्टीभित्र शङ्का–उपशङ्का, विवाद मतभेदहरूलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गरेर जनतामा लिएर जाने विषयमा छलफल भएको पनि बताएका छन ।

उनले थपे, ‘हाम्रो सापेक्षतामा त्यसलाई समाधान गर्ने दिशामा अघि बढेका छौँ । यस्तो बेलामा मैले पोस्ट बहादुर बोगटीलाई अझ बढी सम्झेका छौँ, ‘उहाँ भइदिएको भए के हुन्थ्यो होला रु पार्टी लाइनलाई विकसित गर्ने सन्दर्भमा र पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा हामीलाई उहाँ अपरिहार्य थियो ।’ उनले पार्टीमा विभिन्न समस्या देखिएको स्वीकार गर्दै पार्टीमा नयाँ सङ्कल्पका साथ जानुपर्ने जिकिर गरेका छन ।

लिडरसिपको अगाडि हुँदासम्म सबै राम्रो छ भन्ने तर पछाडि हुँदा चाहिँ गाली गर्ने प्रवृत्ति भएकाले यस पटक सबैलाई आफ्ना कुरा खुलस्त राख्न भनिएको पनि जानकारी दिए ।

‘साथीहरूले दुई दुई घण्टासम्म पनि बोल्नुभयो । मलगायत अरू लिडरले धैर्यतापूर्वक उहाँहरूका कुरा सुन्नुभयो,’ उनले भने । फरक प्रसङ्गमा प्रचण्डले आफ्नो पार्टीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल नारा अन्तरत काम सुरु गरेपछि सङ्ख्या भएका दलहरूले बढो अपारदर्शी र षडयन्त्र तरिकाले सरकार परिवर्तन गर्न मध्यरातमा सहमति गरेको आरोप लगाए । आफ्नो सरकारलाई हटाउन आफ्नो पङ्क्तिलाई पनि जानकारी नदिइकन जमर्को गरिएको उनको भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us