रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाण्डु टुडे २०८१ भदौ १ गते १०:४२ मा प्रकाशित

काठमाण्डु, १ भदौ– सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली घटना स्थलमा पुगेका छन ।

त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जानकारी दिएको छ ।

रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिएका छन । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिएकी छन ।

बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ ।

बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us