काठमाण्डु, ३२ साउन– सोलुखुम्बुको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ ।
बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जानकारी दिएको छ । यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छन ।
उनले मानवीय क्षतिको विवरण नआएको पनि जानकारी दिएकी छन । यसैबिच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् ।