काठमाण्डु, ३२ साउन– हिजो बिहिबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ ।
दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुवैलाई ट्राफिक प्रहरीले नरोकेको भिडियोमा देख्न सकिन्छ । प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए ।
यसबारे बिहीबार नै काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले दुर्घटनामा परेको स्कुटरलाई ट्राफिकले नरोकेको बताएका थिए । सीसीटीभी फुटेजमा समेत ट्राफिकले स्कुटरलाई रोकेको देखिंदैन ।
बिहिबार दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ ।
सोही क्रममा काठमाण्डुबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेका स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार पुरुषलाई घिर्सादै ट्रक केही मिटर परसम्म पुगेको देखिन्छ ।
त्यसपछि त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिंदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ ।
यो दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ ।
उनको शव आफन्तले सनाखत समेत गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद बिष्टले जानकारी दिए । स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रकलाई भने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ मा राखिएको छ । दुर्घटनापछिको प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी विष्टको कमाण्डमा ११८ जना र काठमाण्डुका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।