गठ्ठाघर दुर्घटनाः बहिनीको मृत्यु भएको झुठो खबर दिने युवक पक्राउ

काठमाण्डु टुडे २०८१ साउन ३२ गते ११:२३ मा प्रकाशित

काठमाण्डू, ३२ साउन- भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको स्कुटर दुर्घटनामा आफ्नी बहिनीको ज्यान गएको दाबी गर्ने युवकलाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका- ४ का अन्दाजी ३० वर्षीय शम्भु नेपाली छन् । नेपालीले प्रहरी समक्ष आफ्नी बहिनी २३ वर्षीया सुष्माको मृत्यु भएको दाबी गरेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले गएराति पक्राउ परेका नेपाली ठिमी प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए । प्रहरीका अनुसार यसअघि पनि नेपालीले पटकपटक बहिनीको मृत्यु भएको गलत हल्ला फैलाउने गरेको खुलेको छ ।

नेपालीको दाबीका आधारमा प्रहरीले मृतक सुष्मा भएको बतायो । बिहीबार दिनभरजसो प्रहरीको हवाला दिंदै सन्चार माध्यमले मृतक महिला भएको समाचार प्रसारित गरे । तर जब मृतक महिला नभएर पुरुष भएको पुष्टि भयो त्यसपछि प्रहरी झुठो खबर दिने नेपालीको खोजीमा जुट्यो ।

बिहीबार दिउँसो गट्ठाघरमा बा३९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको  ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।    

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us