काठमाण्डु, ३१ साउन– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन । स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिएका छन ।