काठमाण्डु, ३१ साउन– नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको बताएका छन ।
एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले भने यस्तो जानकारी दिएका हुन ।
खतिवडाले बिहीबार भनेका छन्, ‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’ । त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूको बिचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै भने स्वीकारेका छन् ।
उनले भने, ‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बिचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो, ‘त्यो भन्दा बढी केही छैन ।’
उनले सबै राजनीतिक दलका आ–आफ्ना कार्यनीति हुने र भन्दै त्यसमा बहकिन नहुनेमा जोड गरेका छन् । ‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो ।
कम्युनिस्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ । कलम चुनाव चिह्न हाम्रो विशेष परिचय हो यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन’, खतिवडाले भनेका छन् ।