सुप्रिम सहकारीका क्यासियरसँग समितिले लियो बयान

काठमाण्डु टुडे २०८१ साउन ३१ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको छ ।

आज बिहिबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बचत हिनामिना र दुरुपयोग गरेको आरोप लागेका गुरुङसँग सोधपुछ गरेको समिति सभापति सुर्य थापाले जानकारी दिएका छन ।

सभापति थापाले भने, ‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज सुप्रिम बचत तथा ऋण सहकारी संस्था,बुटवलको प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङलाई समितिको बैठकमा ल्याई सोधपुछ गरिएको छ ।’

गुरुङ २०८० वैशाखमा २ लाख धरौटीमा रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी थिइन् । यसअघि समितिले सहकारीको रकम अपचलनमा संलग्न १० जनाभन्दा बढीसँग बयान लिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us