काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्ताबेज भएको बताएका छन । तर, संशोधन भन्दैमा प्रतिगमनबारे भने सोच्न नसकिने उनले बताएका छन ।
आज बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लोकतन्त्रका लागि लडेर आएको दलले फेरि प्रतिगमन सोच्नै नसक्ने पनि बताएका छन ।
उनले संविधान संशोधनका नाममा एमालेसहितका दल प्रतिगमनतर्फ अघि बढ्न खोजेको माओवादीसहितका प्रतिपक्षी दलले आरोप लगाइरहेको बेला ओलीले यस्तो बताएका हुन ।
उनले भने, ‘हामीले लोकतन्त्रका लागि लडेका छौँ । संघर्ष र त्याग ख्यालख्यालको कुरा होइन, ‘हामीले संघर्ष गरेर यो प्रणाली स्थापना गरेका छौँ । टिकाउ भनेको लोकतन्त्र मात्रै हो ।
यो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र यसलाई व्यवस्थित गर्नका निम्ति प्रतिबद्ध छौँ ।’ उनले संविधान संशोधनका कुरा कहिलेकाहिँ उठ्न भन्दै अहिलेको सरकारले पनि आवश्यकताको आधारमा संशोधन गर्ने भनेको पनि बताएका छन ।
उनले भने, ‘यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ?, ‘हामीले जेका लागि यति दुखकष्ट भोगेर यो परिणाममा ल्याका छौँ, जनप्रतिनिधि भएका छौँ ।
र जनतासँग बाचा बन्धन पनि गरेका छौँ । बाचा र हस्ताक्षरको बन्धन बन्धन सानो कुरा होइन ।’ उनले लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ? भन्ने प्रश्न गर्दै कुनै पनि हालतमा तानाशाही ठीक छ भनेर भन्न नसकिने बताएका छन । ‘हामी त अधिनायकवादका विरुद्ध लडेर आएका हौँ । हाम्रो विश्वास लोकन्त्रमाथि मात्रै छ’, उनले भने, ‘विश्वास नभई ज्यान दिन सकिँदैन, गर्धन थाप्न सकिँदैन ।’