काठमाण्डु, २८ साउन– अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसमविद् सरोज पुडासैनीले बताएका छन । त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ ।
सोमबार दिउँसो सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिएका छन । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको पनि उनले जानकारी दिए ।
दिउँसोको तुलनामा आज राति कम पानी पर्ने सम्भावना पनि उनले बताएका छन । कोशी, बागमति, गण्डकी र लुम्बनीका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिएका छन ।