काठमाण्डु, २८ साउन– बुटवलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन्। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का २३ वर्षीय अंकृत पाठक रहेको प्रहरीले जानकारी दिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा पाठकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिएका छन ।
दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो। उनकी आमा ४३ वर्षीय गौमुखी पाठक गम्भीर घाइते भएकी छन्।
घटनामा मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।