म्याग्दी, २८ साउन– म्याग्दीको बेनी नगरपालिका–९ स्थित जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ ।
गंगटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो मानव कंकाल भेटेपछि प्रहरीमा खबर गरेका थिए । शव गाडिएको ठाउँ नजिकै सुनको सिक्री, कपडा र चप्पल भेटिएको छ ।
म्याग्दी प्रहरीका डिएसपी भरत श्रेष्ठले कंकालसहित गहना र कपडा परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइने बताए ।
उनले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जानकारी दिए । बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार बेपत्ता छिन् ।
१६ पुस २०८० मा घरबाट निस्किएकी उनी अझै भेटिएकी छैनन् । मिनाका आफन्तले कपडा र गहना उनकै भएको दाबी गरेका छन् ।
मिनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी–९ का एक युवक हाल अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।