काँग्रेसले बनायो मन्त्री छान्ने मापदण्ड, ६ मन्त्रीको करिब टुंगो

काठमाण्डु टुडे २०८१ असार २९ गते १६:२१ मा प्रकाशित

ललितपुर, २९ असार– कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीका लागि मापदण्ड तय गरेको छ ।

शनिबार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले मन्त्री चयनको मापदण्ड तय गरेको हो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमताका आधारमा मन्त्री पठाउने निर्णय भएको जानकारी दिए ।

उनले ओली सरकारमा सहभागी सबै मन्त्रीले एकैपटक सपथ लिने पनि बताए । यद्यपि प्रधानमन्त्रीको सपथपछि मात्र काँग्रेस–एमालेसहित सत्ता गठबन्धनको पक्षमा उभिएका साना दलहरुबीच भागबण्डा हुने र त्यसपछि मात्र पार्टीका मन्त्री टुंगोे लगाइने उल्लेख गरे ।

श्रोतका अनुसार काँग्रेसबाट गृहमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको टुंगो लागिसकेको छ ।

यस्तै हृदयराम थानी, जीवन परियार, अजय चौरसिया, सरिता प्रसाईं मन्त्री बन्ने करिब पक्काजस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us