त्रिशूलीमा बस खस्दा हराएकामध्ये एकको शव नारायणीमा भेटियो

काठमाण्डु टुडे २०८१ असार २९ गते ११:४७ मा प्रकाशित

चितवन, २७ असार– शुक्रबार बिहान पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट शित्रूली नदीमा बेपत्ता बसका यात्रुमध्ये एक जनाको शव भेटिएको छ ।

चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गोलाघाटस्थित नारायणी नदी किनारमा एक युवकको शव भेटिएको हो । रिजालका अनुसार मृतकको साथमा रहेको ग्लोबल आइएमई बैंकको भिसा कार्डका आधारमा उनको नाम ऋषिपाल साह हो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भरतपुर लगिएको छ । दुईवटा बसमा चालक र सहचालकबाहेक टिकट काटेका ४८ र टिकटबिनाका यात्रु गरी ६० भन्दा बढी बेपत्ता छन् । तीन यात्रुले भने पौडिएर ज्यान बचाएका थिए ।

शुक्रबार जलसतह उच्च भएका कारण प्रभावित भएको खोजीकार्य शनिबार बिहानैदेखि जारी छ । आज पानीको बहाब कम भएको र वर्षात रोकिएका कारण खोजी कार्य सहज भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले सोनार क्यामेर र वाटर ड्रोन प्रयोग गरी बेपत्ताको खोजी गरिरहेको छ । बस र यात्रुको खोजीमा गोताखोरसहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको करिब डेढ सय जनाको टोली परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us